काठमाण्डौ – मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । झरी परिरहेका ठाउँका नदी खोलामा बाढी आएको छ । संखुवासभाको अरुण, पर्वतको कालीगण्डकी, लमजुङको चेपेखोला, म्याग्दीको मंगलघाट लगायतका नदी, खोलामा ठूलो बाढी आएको सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
काठमाण्डौ उपत्यकासहित पूर्वका केही ठाउँमा भने झरी केही रोकिएको छ । पूर्वका केही ठाउँमा वर्षा कम भए पनि काठमाण्डौसहित देशका अरु धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुनेछ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ । यस्तै कोशी र बागमती प्रदेशको एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ । अरु ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकीदेखि नै देशका धेरैजसो ठाउँमा निरन्तर पानी परिरहेको छ । आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सि सोमबारदेखि पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पनि लामोदूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै हिमाली क्षेत्रमा पनि लगातार हिमपात भैरहेकोले जनजीवन प्रभावित बनेको छ ।







