काठमाण्डौ – पाल्पाको माथागढी गाउँपालिका–३ भैसकट्टामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको अवस्था थाहा हुन सकेको छैन ।
आज बिहान साँढे चार बजे तिर घर माथिबाट पहिरो खसेको हो । पहिरोले घर पुरेपछि ७५ वर्षीय लिलबहादुर घर्ती , उहाँकी छोरी १७ वर्षीया दिना घर्ती र छिमेकी माेतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती सम्पर्कविहीन भएको वडाअध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
घर माथिबाट आएको ठूलो ढिस्कोसहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरेको छ । ठूलो ढिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष यम चिदीले बताउनुभयो ।
घटनालगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका अध्यक्ष चिदीले उज्यालोलाई जानकारी दिनुभयो ।






