काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
यसअघि भारतकै सचिन तेन्दुलकरले सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा ३७७ औँ इनिङ्स खेल्दै १५ हजार रनको आँकडा पार गरेका थिए । विराट कोहलीले सचिनको सोही रेकर्डलाई ७४ इनिङ्सअगावै (३०३ इनिङ्समा) तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
भारतको सानदार जित
भारतको केरलास्थित तिरुवनन्तपुरममा आइतबार भारत र वेस्ट इन्डिजबीच खेलिएको पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतले ८ विकेटको जित निकालेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर २९५ रन बनायो । वेस्ट इन्डिजका तर्फबाट जस्टिन ग्रेभ्सले १०१ रन बनाए ।
भारतीय टोलीले ४१.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । विराट कोहलीले छक्का प्रहार गर्दै खेल भारतको नाममा गराए । विराट कोहलीले ८८ बलमा १३९ रन बनाए भने शुभमन गिलले १०८ बलमा ११० रन बनाए ।
भारतका तर्फबाट कुलदीप यादवले चार विकेट लिए । त्यस्तै प्रसिद्ध कृष्णाले २ र नितिश कुमार रेड्डीले एक विकेट लिए ।







