काठमाण्डौ – यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ ।
तर कहिलेदेखि बाहिरिन्छ भनेर ठ्याक्कै भन्न नसकिने मौसमविद्को भनाइ छ । मनसुन बाहिरिने औसत मिति आज अक्टोबर २ तारिख हो । अब बिस्तारै पश्चिमी क्षेत्रबाट मनसुन हट्न थाल्ने अनुमान छ ।
मौसमविद्का अनुसार मनसुन देशभरबाट एकैपटक बाहिरिँदैन । यो पश्चिमी भागबाट क्रमशः हट्दै पूर्वी भागबाट बाहिरिन्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात जेठ अन्तिम हप्ता हो ।
यस वर्ष मनसुन यो मितिभन्दा ६ दिन ढिला असार ५ गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलिँदै असार १६ गते देशभर पुगेको थियो । अब मनसुन बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ ।







