गृहपृष्ठ Featured बाणगंगाका पौडेल : गाईपालनबाट मासिक एक लाख बचत गर्दै

बाणगंगाका पौडेल : गाईपालनबाट मासिक एक लाख बचत गर्दै

जानु पाण्डे, कपिलवस्तु ।

‘धेरैले विदेशको कमाइले घरजग्गा जोड्छन् । गाउँबाट राजमार्ग छेउमा बसाइ सर्छन् । साथीभाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिन्छन् । तर उनले आत्मनिर्भर हुन खोजेँ । घरजग्गाको सट्टा गाई पालनमा लगानी गरेँ । अहिले मासिक १ लाख बचत गर्छन् कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–६ भगलापुरका झविन्द्र पौडेल ।

पौडेल वैदेशिक रोजगारीको सिलसिलामा २८ महिना कतार र आठ वर्ष कुवेत बसे । सन २००९ मा उनी कतार गएका थिए । एक दशकको वैदेशिक रोजगारीबाट खर्च कटाएर बचेको करिब २० लाख बढी लगानीमा २०७५ सालमा डालु पशुपालन फर्म सञ्चालन गरे ।

‘सहरबजारमा घर घडेरी जोडेको भए फेरि बिदेसिनु पर्ने थियो । अहिले विदेशमा श्रमिक हुनुभन्दा राम्रो जीवनशैली छ,’ पौडेलले भने, ‘१२ वटा गाईबाट व्यवसाय सुरु गरेँ । उन्नत जातका ८ वटा जर्सी गाई र चार वटा होलिस्टोन गाई खरिद गरियो । १६ लाख रुपियाँ खर्च भयो । आम्दानी भएपछि हाल २५ वटा गाई छन् । यो वर्ष लम्पीस्किन रोगका कारण ३ वटा दुहुनो गाई मरे ।’

पौडेलले दैनिक १ सय २५ लिटर दुध उत्पादन गर्दै आएका छन् । एउटा गाईबाट दैनिक औसत १५ लिटर दूध उत्पादन हुने उनले बताए । उत्पादन भएको दूधमा औसत ४।२ फ्याट र ८ एसएनएफ रहेको बताइन्छ । सहकारी संस्थाले सो दूध ६५ रुपियाँ लिटरमा खरिद गर्दैआएको उनले बताए । कोभिड समयमा धेरै घाटा सहनु परेको उनले बताए । अहिले त्यो बेलाको घाटा कटाएर मुनाफामा रहेको पौडेलले बताए ।

पौडेलले पशुपालन गर्दा राज्यबाट खासै सहयोग नभएको गुनासो समेत गरे । उनले बाणगंगा नगरपालिकाबाट भकारो सुधारका लागि ३० हजार र गोठ सुधारका लागि ५० हजार अनुदान पाएको बताए । उनले हाल ४५ लाख रुपियाँ लगानी गरेका छन् । २ कामदारलाई रोजगारी दिएका पौडेलले २७ कट्ठा जग्गामा धानको सिजन बाहेकको समयमा बर्सिम र ५ कट्ठामा नेपियर जातको घाँस लगाउनुभएको बताए ।

सम्बन्धित् समाचार