रुपन्देही ।
बाटो अतिक्रमण गरेको जग्गा हटाउनको साटो बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको जग्गाबाट बाटो खोलेपछि अस्पताल प्रशासनले विरोध गरेको छ ।
उपमहानगरपालिकाले आफ्नो जग्गामा डोजर लगाएपछि अस्पतालले जिल्ला प्रशासन र लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्दै यो कार्य बन्द गर्न र डोजर लगाएको क्षेत्रमा वाल लगाउन ध्यानाकर्षण गराउँदै पत्राचार गरेको छ ।
अस्पतालले अहिले भएकै जग्गासमेत अस्पताललाई अपुग भइरहेका बेला डोजर लगाएर सडक खोल्नु अनुचित भएको बताएको छ । अस्पतालले पूर्वाधार निर्माणका लागि जग्गा अपुग भएपछि यसअघि इलाका वन कार्यालयको जग्गा लिन पहल गरेको थियो । भएकै जग्गामा समेत सडक खोलिएपछि अस्पतालको स्तरोन्नतिमा समस्या पर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा बताउँछन् ।








