पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपाली महिला कबड्डी टिमले १९औं एसियाडमा सोमबार बंगलादेशमाथि ऐतिहासिक जित निकाल्यो ।
हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा भएको समूह बी को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै पदकको सम्भावना बलियो बनाएको छ ।
तीन राष्ट्र मात्र रहेको यो समूहमा नेपाल र बंगलदेशसहित इरान छन् । मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
इरान र बंगलादेशबीचको खेल बुधबार हुनेछ । इरानसँग नेपाल पराजित भएमा पनि अन्तिम खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल सेमिफाइनलमा पुग्नेछ र कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ ।
२०१८ मा इन्डोनेसियामा भएको एसियाडमा इरानले महिला कबड्डीमा स्वर्ण जितेको थियो ।
महिला कबड्डीमा जम्मा ७ राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईं छन् ।
सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागमा रजत जितेको कबड्डीले पहिलो पटक एसियाडमा सहभागिता जनाउँदा डेब्यु खेल जित्दै ऐतिहासिक पदक नजिक पुगेको हो ।