गृहपृष्ठ खबर बुद्धभूमि नगरपालिका- ४ द्धारा ७ औं वडा स्तरीय खेलकूद प्रतियोगिता सम्पन्न

बुद्धभूमि नगरपालिका- ४ द्धारा ७ औं वडा स्तरीय खेलकूद प्रतियोगिता सम्पन्न

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ ले ७ औं वडा स्तरीय खेलकूद प्रतियोगिता सम्पन्न गरेको छ । यही मंसिर १७ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता आज बुधबार सम्पन्न भएको हो ।

प्रतियोगितामा वडाभित्रका सामुदायिक र संस्थागत गरि ७ विद्यालयहरुले सहभागिता जनाएका वडा अध्यक्ष सुसिल कुमार चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता अन्तर्गत विद्यालयतर्फ श्री भृकुटी मा.वि. बुड्ढीले प्रथम स्थान हासिल गरेको छ भने ड्रिम ल्याण्ड रेशिडेन्सियल इङ्गलिश स्कूल द्धितीय र सिद्धार्थ गौतम मेमोरियल इङ्गलिश बोर्डिङ्ग स्कूल तृतीय भएको छ ।

यस्तै फुटबल खेलतर्फ पृथ्वी युवा क्लब बुड्ढी प्रथम हुन सफल भएको छ भने आदर्श युवा क्लब भैरमपुर द्धितीय र डाबरा युवा क्लब डाबरा तृतीय भएको छ । विद्यालय तर्फको खेल विधामा कक्षा १—३ तर्फ १०० मि., २०० मि.दौड र चम्मच दौड समावेश गरिएको थियो भने कक्षा ४—५ तर्फ १०० मि., २०० मि. दौड, लङ्गजम्प र हाईजम्प खेल रहेका थिए । यस्तै कक्षा ६—८ तर्फ १०० मि., २०० मि.दौड, लङ्गजम्प र हाईजम्प खेल भएको थियो ।

वडाध्यक्ष चौधरीले वडाले खेलकुद क्षेत्रलाई प्राथमिकता राखेको बताए । खेलकुदले मानवको शारिरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास गर्न अहम भूमिका निर्वाह गर्ने भएकाले खेल आवश्यक रहेको उनको भनाई छ । वडाध्यक्ष चौधरीले किशोरकिशोरी तथा युवामा खेलप्रतिको मोहलाई थप वृद्धि गर्न यस्ता प्रतियोगिता गर्नुपर्ने आवश्यकता ठानेर वडाले आगामी दिनमा पनि निरन्तरता दिने बताए । उनले प्रतियोगिता भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिए ।

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले यस्ता खेलकुद प्रतियोगिताले खेलाडिलाई आफ्नो खेल सिप थप विकास गर्दै निखार्ता ल्याउन मद्दत गर्ने बताए । उनले खेलकुदकै माध्यमबाट वडा, नगर हुदैं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने भएकाले खेलाडीलाई लगनशिल भएर लाग्न आग्रह गरे ।

नगरप्रमुख श्रेष्ठले नगरले समेत खेलकुद क्षेत्रलाई प्राथमिकता दिर्दै बर्षेनी लाखौं रुपैयाँ विनियोजन गर्दै आएको बताए ।

लुम्बिनी प्रदेश पूर्व सांसद माला गोतामेले वडाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेकोमा खुशी व्यक्त गरिन् । उनले खेलाडीहरुको खेल सिप विकासलाई लागी आगामी दिनमा पनि विभिन्न प्रतियोगिताहरु संचालन गर्दै जान सुझाव दिईन् ।

सम्बन्धित् समाचार