गृहपृष्ठ Featured बेहुलाले सुनको सिक्री नपाएपछि बिहे नै भाँडियो

बेहुलाले सुनको सिक्री नपाएपछि बिहे नै भाँडियो

वीरगन्ज । 

दाइजोमा बेहुली पक्षले बेहुलालाई  सुनको सिक्री नदिएको विषयमा विवाद हुँदा वीरगन्जमा एउटा बिहेनै भाँडिएको छ । वीरगन्ज महानगरपालिका -२४ रामगढवामा सोमबार राति विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भए बिहेनै भाँडिएको हो ।

बाराको कलैया उपमहानगरपालिका- ४ सिनेमा चोकका बच्चालाल साहका छोरा उमेश साह र वीरगन्ज २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको बिहेभाँडिएको हो । बेहुला उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।
एक थान मात्रै गहना बेहुलीलाई दिएपछि बेहुली पक्षले गहना थोरै भएको गुनासो गरे। त्यहि निहुँमा बेहुला उमेश र उनका भिनाजु आनन्दले दाइजोमा सकारेको सुनको सिक्री किन नदिएको भन्दै बेहुली पक्षसँग निहुँ खोजेर झगडा गर्न थाले । उक्त विवाद चर्किदै गएर दुवै पक्षबीच हात हालाहाल पनि भयो ।

बिहेभाँडिएपछि प्रहरीले बेहुला उमेश,उनका बुबा बच्चालाल,दाजुहरु राकेश साह र मुकेश साह,भिनाजु आनन्द साहसहित बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको छ । बिहेचल्दै गरेका बेला बेहुला र बेहुली पक्षबीच विवाद भएको खबर आएपछि दुवै पक्षलाई प्रहरी कार्यालयमा झिकाएर छलफल गर्दा पनि सहमति नजुटेपछि बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङले बताए ।

सम्बन्धित् समाचार