रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबार (आज)देखि तीन दिनसम्म आयोजना गरिने दलित ज्ञान महोत्सवमा २० वटा सेसनमा ८० जना वक्ताहरुले आफ्नो धारणा राख्ने भएका छन् । चैत १४, १५ र १६ गते गरिने महोत्सवमा समुदायले बनाएका विभिन्न सीपसमेत प्रदर्शन गरिने भएको छ ।
तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा गरिएको कार्यक्रम लुम्बिनी प्रदेशमा यसप्रकारको उत्सव पहिलोपटक गर्न थालिएको हो ।
उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हालेमालोका लागि सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धनदाता तथा पत्रकारहरु यसमा निम्तालु छन् ।
उत्सवमा २० वटा सेसनमा ८० भन्दा बढी वक्ताहरु तथा साङ्गीतिक प्रस्तुतिहरू रहनेछन् । कार्यक्रममा गायक तथा निर्देशक यशकुमार, कलाकार दिया मास्के, संगितकार तथा सांगीतिक समूह कुटुम्बका सदस्य किरण नेपाली, मानवशास्त्री डा.सुरेश ढकाल, नेपाली दलित आन्दोलनका अगुवा नेतृत्व पदम सुन्दास, रणेन्द्र बराली, उमादेवी वादी, छविलाल विश्वकर्मा, जीवन परियार, विनोद पहाडी लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने छ । ज्ञान उत्सवको हरेक साँझ सांगीतिक प्रस्तुति रहने छ । यो हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने ज्ञान उत्सवका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएका छन् ।








