गृहपृष्ठ Featured लुम्बिनीमा माओवादीबाट मुख्यमन्त्री बन्ने निश्चित : जोखबहादुर महरा मुख्यमन्त्री बन्दै

लुम्बिनीमा माओवादीबाट मुख्यमन्त्री बन्ने निश्चित : जोखबहादुर महरा मुख्यमन्त्री बन्दै

बुटवल ।

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

संघीय सरकारमा गठबन्धन फेरिएसँगै कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विस्थापित गरेर माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्न लागेका हुन् । उनी रोल्पा क्षेत्र नम्बर १ (१)बाट निर्वाचित हुन् । महरा यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।

माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री चौधरी अल्पमतमा छन् । चैत २२ गतेभित्र मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ । तर, नयाँ गठबन्धनमा एमाले, माओवादी, जसपा, नेकपा एस र एक जना ‘माओवादीनिकट’ स्वतन्त्र प्रदेश सभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी भइरहेको छ । सत्तापक्षका दलहरूले नागरिक उन्मुक्तिले पनि माओवादी नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने दाबी गर्दै आएका छन् । तर, नागरिक उन्मुक्ति भने अनिर्णित छ ।

लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जसपाका ३, नेकपा एसका १ र एक जना माओवादीनिकट स्वतन्त्र प्रदेश सभा सदस्य छन् । नागरिक उन्मुक्ति सरकारमा सहभागी नभए पनि जसपा, एस र स्वतन्त्रको समर्थनमा सरकार बनाउने गरी माओवादीले छलफल सुरु गरेको छ । मुख्यमन्त्री चौधरीले पनि अन्तिमसम्म सरकार जोगाउने गरी प्रयास गरिरहेका छन् ।

कांग्रेस नेतृत्वको सरकारलाई लोसपा, जसपा, नागरिक उन्मुक्ति, जनमत, नेकपा एस र राष्ट्रिय जनमोर्चाको समर्थन छ । संघीय सरकारमा नयाँ गठबन्धनमा सहभागी भएको जसपाले अहिलेसम्म पनि सरकार छोडेको छैन ।

सम्बन्धित् समाचार