भैरहवा ।
बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।
नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ कात्तिक ३ देखि १० गतेसम्म प्रतियोगिता आयोजना हुने जनाइएको छ ।
एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इम्रान नाजिर, बङ्गलादेशको टिमबाट बङ्गलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपिएल खेलाडी दीपक पुनियासहित सबै टिममा प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने बताए ।
प्रतियोगितामा बाङ्गलादेशबाट गुलाज वरियर्स बाङ्गलादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एशोसिएसनको टिम सहभागी रहनेछ ।
विजयी टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई जनही रु २० हजार तथा प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ ।








