गृहपृष्ठ खबर बाणगंगामा तेस्रो नगरस्तरीय खुल्ला महिला ब्याडमिन्टन प्रतियोगिता सुरु

बाणगंगामा तेस्रो नगरस्तरीय खुल्ला महिला ब्याडमिन्टन प्रतियोगिता सुरु

सागर वि.क., कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा तेस्रो नगरस्तरीय खुल्ला महिला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डबल्स महिला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सुसिला पन्थले जानकारी दिईन् ।

खेलप्रति महिलाहरुलाई प्रोत्साहन गर्दै महिला सशक्तिकरणको अभियानलाई थप सुदृढ पार्न खेल आयोजना गरिएको उनले बताईन् । १४ वटा टोलीको सहभागिता रहेको जानकारी दिदैं उनले विहिबार १२ टोलीको खेल सकिएको बताईन् । उनका अनुसार शुक्रबार भोलि फाईनल खेल हुने छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने बताए । ‘लैंगिक हिंसा विरुद्ध भन्ने वित्तिकै महिलालाई मात्र लैङ्गिक हिंसा हुन्छ भन्ने बुझाई छ, त्यस्तो होईन् । हिंसा पुरुषमाथि पनि हुनसक्छ । महिलमाथि पनि हुन सक्छ । यौनिक अल्पसंख्यक माथि पनि हुनसक्छ,’ उनले भने ।

लैंगिक हिंसाबारे सतही रुपमा मात्र बुझ्ने प्रचलन रहेको भन्दै उनले यसबारे अध्ययन गरेर सबैले उचित तवरले बुझ्न आवश्यकता रहेको बताए । उनले बाणगंगामा खेलकुदमा महिलाको सहभागिता कमजोर देखिएको बताए । खेलकुदमा महिलाहरुको सहभागिता वृद्धि गर्न नगरपालिकाले ठोस योजनासहित काम गर्ने उनको भनाई छ ।

यस प्रतियोगिताले स्वास्थ्यसंगै महिलाई खेलप्रति आकर्षण गर्न प्रेरणा प्रदान गर्ने उनले बताए ।

नगरउपप्रमुख रिताकुमारी चौधरीले बाणगंगा नगरपालिकाले विगतदेखि नै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विशेष रुपले मनाउदै आएको बताईन् । कपिलवस्तुका अन्य पालिकाले यो अभियानलाई शुभारम्भ मात्र गर्ने गरेको तर बाणगंगाले भने १६ दिन नै विभिन्न क्रियाकलाप गरेर यो अभियानलाई सार्थक बनाउने गरेको उनले बताईन् ।

प्रतियोगिताकाको उपाधि हात पार्ने टोलीले नगद १० हजार रुपैयासहित प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै द्धितीय हुनेले ८,०००, तृतीय हुने ६,०००, र सान्तवना हुने टोलीले ४,००० रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार