रुपन्देही ।
बुटवलमा गुरुङ समुदायको नेतृत्वमा विश्व शान्तिको कामना गर्दै कांग्युर (त्रिपिटक) पाठ वाचन अनुष्ठान यज्ञ सञ्चालनको तयारी गरिएको छ । स्वदेश तथा विदेशका करिव ८० हजार भक्तजन सहभागी अपेक्षा गरिएको यो अनुष्ठानको संयोजन गुरुङ डाँडा व्यवस्थापन समिति बुटवलले गरिरहेको छ ।
यसअघि पनि समितिले यस्ता अनुष्ठानको आयोजना गरेपनि अहिले अलिक बृहत रुपमा आयोजना गर्न लागिएको हो । समितिले २०७९ सालमा यज्ञहरु मध्येको सबैभन्दा सानो अनुष्ठान मानिने हिंयुपति गरेको थियो भने यस वर्ष कंग्युर अनुष्ठा गरेर आगामी वर्षमा सबैभन्दा ठूला मानिएको टिंग्युर गर्ने योजनामा रहेको छ ।
आगामी शुक्रबारदेखि माघ ३० गतेसम्म यज्ञ सञ्चालन हुन लागेको अनुष्ठान बुटवलको चाँदबारीस्थित गुरुङ डाँडा व्यवस्थापन समितिको कार्यालयमै हुने सल्लाहकार झपटबहादुर गुरुङले बताए । अनुष्ठानमा बौद्ध विद्वान खेन रिन्पो शिर लामा गुरुबाट कांग्युर बाचन तथा पुण्य संचय विषयमा धर्म देशना हुने आयोजक समितिका संयोजक जमुना गुरुङले जानकारी दिइन् ।








