काठमाडौँ — लिभरपुलले टोटनहमलाई ४–० ले पराजित गर्दै बिहीबार सजिलै लिगकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगको सेमिफाइनलमा १–० ले पछाडि रहेको स्थिति उल्टाएर लिभरपुलले समग्रमा ४–१ को निर्णायक अग्रता लिएको हो ।
हारले टोटनहमका प्रशिक्षक एन्गे पोचेग्लुमाथि अझ दबाब थपिएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । अब वेम्बलीमा मार्च १६ मा हुने फाइनलमा लिभरपुलले न्युकासल युनाइटेडको सामना गर्नेछ ।
प्रशिक्षक आर्ने स्लटको डेब्यु सिजनमा लिभरपुलसामु चार उपाधि जित्ने अवसर रहेको छ । लिभरपुल इंग्लिस प्रिमियर लिगको शर्क्षि स्थानमा छ भने युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ पुगिसकेको छ । यस्तै लिभरपुलले एफएकपको चौथो चरणमा आइतबार प्लेमाउथको सामना गर्दैछ ।








