कपिलवस्तु जिल्ला फुटबल संघद्वारा आयोजित दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकप प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोली बुधबार एक कार्यक्रमका बीच गर्ने भएका छन् ।
खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले गर्ने खेल संयोजक तथा कोषाध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुशील) ले जानकारी दिए ।
ठकुरीले दिउँसो ३ः०० बजे बुद्ध रंगशाला, चारनम्बर, बाणगंगामा खेलको उद्घाटन हुने भएकाले सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरे । उद्घाटन खेल कपिलवस्तु ११ र संकटा एफसीबीच हुने संघका अध्यक्ष तिलक थापाले जानकारी दिए । थापले यस आयोजनाले स्थानीय खेलाडी उत्पादन र खेलकुदको विकास र समग्र कपिलवस्तु जिल्लाको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बताए ।
गोल्डकपमा कपिलवस्तु ११, संकटा एफसी, मछिन्द्र क्लव काठमाण्डौ , हिमालयन शेर्पा, नेपाल पुलिस, थ्री स्टार क्लव, विफसी चितवन र जोन्जी एफसी सिक्किम गरि ८ वटा टोलीको सहभागिता रहने छ ।
गोल्डकपको उपाधि हात पार्ने टिमले रु. ११ लाख ११ हजार १११ र उपविजेता हुने टिमले रु।५ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने छन् । यस्तै विभिन्न विधागत रुपमा उत्कृष्ट खेलाडीलाई रु ३०–३० हजार, प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ हुने खेलाडीलाई रु।१० हजार र गोल्डकपकै सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजारको पुरस्कार प्रदान गरिने छ । पहिलो चरणका खेलहरुमा टिकट दर रु २००, सेमिफाईनल खेलमा रु३०० र फाईनल खेलमा रु४०० कायम गरिएको आयोजकले जानकारी दिएका छन् ।
खेल तालिका









