वैखरी अनलाईन, बाणगंगा ।
दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार थ्रीस्टार र हनामी विएफसी चितवन भिड्ने भएका छन् । बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा शुक्रबार ३ बजे यी दुई टोली सेमिफाईनलमा स्थान सुरक्षित गर्न भिड्न लागेको आयोजक कपिलवस्तु जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापाले जानकारी दिए ।
हनामी गत बर्षको च्याम्पियन समेत हो । उनले खेल निकै रोमाञ्चक हुने भन्दै सबैलाई खेल अवलोकनका लागि आह्वान समेत गरेका छन् । संकटा र मछिन्द्र सेमिफाईनलमा प्रवेश गरिसकेका छन् ।
संकटा आयोजक कपिलवस्तुमाथि संघर्षपूर्ण जित निकाल्दै सेमिफाईनलमा पुगेको हो भने मछिन्द्रले हिमालयन शेर्पालाई टाईब्रेकरमा ३–० गोलले पराजित गरेको हो ।
जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए ।
फागुन १४ गतेदेखि सुरु भएको यस गोल्डकपको फाईनल आगामी फागुन २१ गते हुने छ । दोस्रो संस्करण यस गोल्डकपको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।








