सागर वि.क., कपिलवस्तु ।
थ्रीस्टार दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा डिफेन्डिङ्ग च्याम्पियन हनामी विएफसी चितवनलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गर्दै थ्रीस्टार सेमिफाईनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४ औं मिनेटमा आशिस गुरुङ्गले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । अश्विन तामाङले खेलको ७६औं मिनेटमा गोल गरेर हनामीलाई खेलमा फर्काएपछि खेलको निर्णय टाईब्रेकरबाट हुन पुगेको हो ।
टाईब्रेकरमा थ्रीस्टारका लागि मुकुन्द्र कुमार निउरी, गौरब महर्जन, आशिस गुरुङ्ग र सुवित कार्कीले गोल गरे भने भगवत चौधरीको प्रहार हनामीका गोर रक्षक मनोज गुरुङ्गले रोकिदिए । हनामीका लागि नरेन्द्र चौधरी र आयुस मगरले मात्र गोल गरे भने जय गुरुङ्ग र दिपेश गुरुङ्गको प्रहार थ्रीस्टारका गोल रक्षक आशिस ठाडा मगरले ब्लक गरिदिए ।
हनामीको दुई प्रहार ब्लक गरिदिएर थ्रीस्टारको जितमा नायक बनेका आशिस नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । अब थ्रीस्टार सेमिफाईनलमा आईतबार संकटा एफसीसंग भिड्ने छ ।
शनिबार दिउँसो ३ बजे जोन्जी एफसी सिक्किम र नेपाल पुलिसबीच खेल हुने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।
जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए । फागुन १४ गतेदेखि सुरु भएको यस गोल्डकपको फाईनल आगामी फागुन २१ गते हुने छ ।








