गृहपृष्ठ Featured प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसले जित्यो

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसले जित्यो

कुशल भुर्तेलको अर्धशतक मद्दतमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली आर्मी क्लबलाई हराउँदै साबिक विजेता पुलिसले चौथो पटक उपाधि जितेको हो ।

आर्मीले दिएको १५५ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनायो । पुलिसको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । उनले ७० बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

अमित श्रेष्ठले ३८ बलमा २ चौका र ३ छक्काको मद्दतमा ३९ रन बनाए । दिलिप नाथले अविजित ३१ रन बनाउँदा गुल्सन झा ९ रनमा आउट भए । बलिङमा आर्मीका लागि शाहब आलमले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका आलमले ५१ रन दिए । नरेन साउदको नाममा एक विकेट रहृयो ।

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको आर्मीले बसिर अहमदको विस्फोटक ब्याटिङमा ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । आर्मीका लागि बसिर अहमदले अविजित रहँदै सर्वाधिक ८६ रनको योगदान गरे । उनले १०४ बलमा ९ चौका र एक छक्का प्रहार गरे ।

कप्तान विनोद भण्डारी ५८ बलमा २९ रन बनाएर आउट भए भने विवेक यादवले ११ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीकी भीम सार्की, कुशल मल्ल र शाहब आलम शून्य रनमा आउट भए ।

आर्मीले सस्तैमा रोक्न पुलिसका करण केसीले ३ विकेट लिए । उनले ७ ओभरमा एक मेडन राख्दै ३० रन खर्चिए । सागर ढकालले २, कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र गुल्सन झाले समान एक–एक विकेट हात पारे । कुशल भुर्तेलले ५ ओभरमा बलिङ गर्दै बिनाविकेट २४ खर्चिए ।

गत वर्ष फाइनलमा पनि आर्मीलाई पराजित गर्दै पुलिसले उपाधि जितेको थियो । सन् २०१७ मा भएको प्रधानमन्त्री कप क्रिकेटको पहिलो संस्करणको फाइनलमा टाई भएपछि पुलिस र आर्मी दुवै टोलीले संयुक्त उपाधि जितेका थिए । त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक जितेको छ ।

सम्बन्धित् समाचार