गृहपृष्ठ खबर तिलोत्तमा गोल्ड कपको उपाधि चर्च ब्वाइजलाई

तिलोत्तमा गोल्ड कपको उपाधि चर्च ब्वाइजलाई

तिलोत्तमा — काठमाडौंको चर्च व्वाइज क्लबले रूपन्देहीको बुटवलमा सञ्चालित तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको २३ औं संस्करणको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० अन्तरले हराउँदै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।

 

बुटवलस्थित एन्फा एकेडेमी मैदानमा अपराह्न सञ्चालन भएको फाइनलको पहिलो हाफको २० औं मिनेटमै चर्च ब्वाइजले अग्रता लिएको थियो । चर्च ब्वाइजका लागि रिचर्ड विल्सनले गोल गरे । राज भुसालले प्रहार गरेको कर्नरलाई विल्सनले हेडिङमार्फत गोलको दिशा दिएका थिए । खेलमा चर्च ब्वाइज हाबी भएको थियो । दोस्रो हाफमा पनि चर्च ब्वाइजले सशक्त प्रदर्शनलाई निरन्तरता दिंदै गोल अन्तर दोब्बर पार्‍यो । दोस्रो हाफको १८ औं मिनेटमा राज भुसालले गोल गरेपछि टिमको उपाधि दाबी बलियो बनेको थियो ।

विभागीय र जिल्लाका गरेर ८ टिम सहभागी प्रतियोगिताको उपाधि जितेपछि चर्च व्याइजले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको हो । फाइनलमा चर्च ब्वाइजका राजु भुसाल प्लेयर अफ दी म्याच घोषित भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै विधागततर्फ उत्कृष्ट गोलकिपर चर्च व्वाइजका विशाल चौधरी, वेस्ट डिफेन्डर एपीएफका मानबहादुर राना, वेस्ट मिडफिल्डर एपीएफका सामुयल सुनार, वेस्ट स्टाइकर चर्च व्वाइजका रिचर्ड विलसन र वेस्ट कोच चर्च व्वाइजका आशषिक थापा मगर भए । उत्कृष्ट हुने सबैले जनही ३१–३१ हजार र ट्रफी हात पारेका छन् ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चर्च व्याइजका अमन लामा भएका छन् । उनले एक थान स्कुटरसहित ट्रफी हात पारे । एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य–सचिव तिरण गौतम, एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी, यशोदा फुड्स प्रालिका डाइरेक्टर नितेश मालपानी, रूपन्देही फुटबल संघका अध्यक्ष लोक पुन लगायतले उत्कृष्ट खेलाडी, विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए ।

चैत ९ देखि सुरु भएको प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टिम एडोर्न गडवाल स्पोर्टिङ क्लब, भारत र जर्जियन एफसी भारतको सहभागीता रहेको थियो ।

सम्बन्धित् समाचार