नेपालगन्ज ।
लुम्बिनी प्रदेशमै पहिलो पटक भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र काठमाडौंको सहकार्यमा मंगलबारदेखि उक्त सेवा अस्पतालमा सुरु भएको हो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भेरी अस्पतालमा पहिलोपटक मंगलबार पहिलो दिन दुई जना बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको बताए ।
मंगलबार पहिलो दिन बाँसगढी नगरपालिका वडा नम्बर ८ बर्दियाका ३७ वर्षीय पुरुष र औरही नगरपालिका २ महोत्तरीका ४० वर्षीय पुरुषलाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका मेसु डा.सुवेदीले जानकारी दिए ।
उनकाअनुसार दुवैजना बिरामीलाई उनीहरुका श्रीमतीले मिर्गौला दान गरेका थिए । यसअघि एक जना बिरामीले भेरी अस्पतालमै डायलाइसिस गराउँदै आएको र अर्को एकजना बिरामीले काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए ।








