गृहपृष्ठ Featured उत्पादन घट्दा बढ्यो अण्डाको माग

उत्पादन घट्दा बढ्यो अण्डाको माग

गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्दछ । मुख्य रोगहरू पनि यही मौसममा देखा पर्ने गर्दछन् । पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीका कारण हुने तनाव निकै बढ्ने उनी बताउँछन्।

उनले भने, “अझै अण्डाको उत्पादन घट्दै जाने छ ।” गर्मी उच्चविन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उनको भनाइ छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताए । चार महिनाअघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको उनले बताए। उनको भनाइमा गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरेको र चल्ला राख्न नसकेका कारण अण्डाको सङ्ख्या घटेको हो ।

विद्यालय, क्याम्पस खुलेका र पर्यटक बढेका कारण बजारमा अण्डाको माग बढेको उनले बताए । माग बढेसँगै किसानले उत्पादन गरेको अण्डाको मूल्य बढ्दो क्रममा छ ।

सम्बन्धित् समाचार