युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल समीकरण पूरा भएको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २-१ ले पराजित गर्दै पिएसजीले फाइनलमा स्थान बनाएसँगै इन्टर मिलान र पिएसजी उपाधिका लागि भिड्ने तय भएको हो।
पिएसजीको घरेलु मैदान पार्क देस प्रिन्सेसमा पिएसजीले आर्सनललाई सहज रुपमा पराजित गर्ने क्रममा खेलको २७ औं मिनेटमा फ्याबियन रूइजले घरेलु टोलीलाई अग्रता दिलाए।
पहिलो हाफमा १-० को जत निकालेको पिएसजीले खेलको ७२ मिनेटमा हाकिमीको गोल मार्फत अग्रता दोब्बर बनायो। ७६ मिनेटमा बुकायो साकाले एक गोल फर्काएपनि आर्सनललाई हार टार्न पर्याप्त भएन।
यसअघि आर्सनलको मैदानमा भएको पहिलो सेमिफाइनलमा पिएसजीले १-० गोलको जित निकाल्दै अग्रता बनाएको थियो। गएरातिको जितसँगै पिएसजी समग्रमा ३-१ को नतिजा सहित फाइनलमा स्थान बनाएको हो।
यसअघि मंगलबार राति भएको खेलमा इन्टरले बार्सिलोनालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताको फाइनल १ जुनमा जर्मनीको म्युनिखस्थित एलियन्ज एरेनामा हुनेछ।








