गृहपृष्ठ Featured गर्भवती महिलालाई झुल

गर्भवती महिलालाई झुल

कपिलवस्तु ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले मातृ तथा शिशु स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै वडा भित्रका सुत्केरी महिलालाई झुल वितरण गरेको छ । गौढीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मोहम्मद जाहिद खाले ४० भन्दा बढी गर्भवती तथा सुत्केरी महिलालाई झुल हस्तान्तरण गरेका हुन ।

वडाध्यक्ष खाँले सुत्केरी र गर्भवति महिला तथा शिशुहरुको स्वास्थ्य सुरक्षाको ध्यान राखेर यो कार्यक्रम अघि सारिएको बताए । स्वास्थ्य केन्द्रकी अहेब सृजना भट्टराईका अनुसार यो वितरण कार्यक्रम स्वास्थ्य मापदण्ड अनुरूप संचालन गरिएको हो। “चार पटक नियमित गर्भ परीक्षण गराएका र अस्पतालमै सुरक्षित सुत्केरी गराएका महिलाहरूलाई झुल प्रदान गरिएको हो,” उनले भनिन ।

उनका अनुसार घरमै सुत्केरी गराउने परम्परा हटाउने र मातृ तथा शिशु मृत्यु दर घटाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो । वडा कार्यालयले हाललाई ४० महिलालाई झुल वितरण गरिसकेको र कुल २०० सुत्केरी महिलालाई झुल वितरण गर्ने योजना रहेको जनाएको छ ।

कार्यक्रमले समुदायमा सुरक्षित मातृत्वको महत्त्वबारे जनचेतना फैलाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार