गृहपृष्ठ Featured लुम्बिनीका स्वास्थ्यमन्त्रीले सार्वजनिक गरे एक वर्षका प्रमुख उपलब्धि

लुम्बिनीका स्वास्थ्यमन्त्रीले सार्वजनिक गरे एक वर्षका प्रमुख उपलब्धि

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले आफ्नो एक वर्षे कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । देउखुरीस्थित राप्ती उपत्यकामा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सारुले सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहलाई आधार मानेर तयार पारिएको २५ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।

मन्त्री सारुका अनुसार जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले प्रभावकारी कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८१र८२ मा मन्त्रालयले ८६.५१ प्रतिशत वित्तीय प्रगति गरेको छ, जुन लुम्बिनी प्रदेश सरकारअन्तर्गत सबै मन्त्रालयमध्ये सर्वोत्कृष्ट रहेको दाबी गरिएको छ ।

बुटवलमा निर्माण भइरहेको १,२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको २०८१ भदौ १५ मा शिलान्यास भई हालसम्म २७ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिइएको छ ।

स्वास्थ्य प्रणालीलाई कानुनी रूपमा व्यवस्थित गर्न मन्त्रालयले ९ वटा नियमावली, कार्यविधि र निर्देशिकाहरू स्वीकृत तथा परिमार्जन गरेको छ । पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति मन्त्रिपरिषद्बबाट पारित भई कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ ।

क्यान्सर, मुटु र मृगौला प्रत्यारोपण उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयमार्फत सिफारिसको व्यवस्था लागू गरिएको छ भने १३ स्थानीय तहमा २६ जना रोभिङ्ग नर्स खटाइ मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यु न्यूनीकरणसम्बन्धी सेवा र परामर्श दिइएको छ ।

प्रदेशका सबै अस्पतालहरूमा ५४ प्रकारका सेवा तथा शुल्कमा एकरूपता कायम गरी वडापत्र र वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका ४१ वटा सवारीसाधनमा जिपिएस ट्र्याकिङ प्रणाली लागू गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट, डिजिटल भुक्तानी, स्तन स्वास्थ्य सेवा क्लिनिक, ९० शैयाको आन्तरिक रोग वार्ड, एम।आर।आई। सेवा, रगत संकलन तथा भण्डारण केन्द्रको व्यवस्था गरिएको छ ।

गुल्मी अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागू गरिएको छ भने मन्त्रालयस्तरमा सरकारी सूचना व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह थालिएको छ । अस्पतालमा प्रयोग हुने उपकरण तथा सामग्री व्यवस्थापनका लागि उपकरण व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरिएको छ ।

स्वास्थ्य बीमा तथा जनस्वास्थ्य सेवा विस्तार अन्तर्गत ३,८५१ जना बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान गरिएको छ भने १ लाख ४ हजारभन्दा बढी नागरिकको नसर्ने रोग स्क्रिनिङ गरिएको छ । ३९ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिएको छ भने ६९ हजारभन्दा बढी गर्भवती महिलाले संस्थागत प्रसूति सेवा लिएका छन् । मन्त्रालय मातहतका २,०६४ कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराइएको छ र ९ जिल्लामा मृगौलाको डायलाइसिस सेवा विस्तार गरिएको छ ।

५० शैयाको भालुवाङ अस्पतालमा कर्मचारी नियुक्ति गरी सेवा सुरु गरिएको छ । ४ वटा स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न भइसकेका छन् भने ७ वटा निर्माणाधीन अवस्थामा छन् । रिक्त प्राविधिक दरबन्दीमा करार सेवामार्फत जनशक्ति भर्ना गरी सेवा विस्तार गरिएको छ ।

प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता कायम गरिएको छ भने ३० स्थानीय तहलाई संस्थागत प्रसूति सेवा युक्त पालिकाको रूपमा घोषणा गरिएको छ । महिला, बालबालिका तथा किशोरी लक्षित पोषण सुधार कार्यक्रम सबै जिल्लामा सञ्चालन गरिएको छ । बिजौरी आयुर्वेद चिकित्सालयबाट सुरु गरिएको स्वर्ण बिन्दु प्राशन सेवा विस्तारका लागि मानव कार्यविधि तयार पारिएको छ, जसअनुसार अब सबै जिल्लामा विस्तारको तयारी भइरहेको छ ।

प्युठानमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत ७६ जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ भने १०२ नम्बरमार्फत प्रादेशिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । तीन जिल्लामा फेमिली हेल्थ प्रोफाइल तयार पारिएको छ भने आगामी आर्थिक वर्षमा थप चार जिल्लामा विस्तार गरिने योजना रहेको मन्त्रालयले जनाएको छ । मन्त्री सारुले प्रदेशवासीको स्वास्थ्य सुधारमा मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, सर्वसुलभ र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुने बताएका छन् ।

सम्बन्धित् समाचार