रूपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट ६ मा छनोट भएको यो नगरपालिकाले देशभरिमा तेस्रो स्थान हासिल गर्यो।
तिलोत्तमा नगरपालिका अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि उत्कृष्ट स्थानीय तह घोषित भएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी ९ क्षेत्रको कार्यसम्पादन मूल्याङ्कन गरी पुरस्कृत गर्दै आएको छ।
यी सबै सूचकहरूमा तिलोत्तमा नगरपालिकाले १०० मा ९७.२५ प्रतिशत अंक प्राप्त गरेको स्वमूल्यांकन घोषणा गरेको छ। यसमध्ये समग्र स्थिति ९८.८१ प्रतिशत, प्रक्रियागत स्थितिमा शतप्रतिशत र परिमाणात्मक स्थितिमा ९४.४४ प्रतिशत अंक स्वमूल्यांकन गरेको छ।
तिलोत्तमा अघिल्लो आर्थिक वर्ष जस्तै आर्थिक वर्ष २०८०/८१ मा पनि उत्कृष्ट बनेको हो। यो मूल्याङ्कनमा देशभरका ७५३ मध्ये ७३२ स्थानीय तह सहभागी भएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका रेशमलाल कँडेलले जानकारी दिए।
नगरपालिकाले आफ्नो दीर्घकालीन योजना र मध्यकालीन खर्चको संरचना बमोजिम निर्धारित समयमै वार्षिक बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन र भुक्तानी गरेकाले स्वमूल्याङ्कनमा उत्कृष्ट बन्न सफल भएको नगरपालिकाले जनाएको छ।
कुल सूचकमध्ये विकासका ५ वटै क्षेत्रहरू आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रहरूमा समन्यायिक रूपमा बजेट विनियोजन गरी नतिजामूलक कार्यान्वयन गर्ने गरेकाले तिलोत्तमा लिसामा लगातार उत्कृष्ट बनेको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नारायण अर्याल बताउँछन्।