कपिलवस्तु ।
नेकपा (एमाले) वाणगंगा नगरकमिटीले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने तयारी गरेको छ। वाणगंगा नगरपालिका–२, पिपरामा रहेको पार्टी नाममा दर्ता १७ धुर जग्गामा थप १० धुर जग्गा खरिद गरी दुईतले आधुनिक भवन निर्माण गर्ने निर्णय नगरकमिटीको बैठकले गरेको हो।
भवन व्यवस्थापनका लागि विश्व कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिमा नगरअध्यक्ष सोमनाथ अर्याल, वडा अध्यक्ष विष्णु पौडेल, जिल्ला विद्यालय विभाग सदस्य कमल क्षेत्री, नगर उपाध्यक्ष भिम थापा, सचिव चेतनारायण भण्डारी, मुक्तबहादुर कार्की, नहकुल शाही, कृष्णप्रसाद गैरे, सरोजमणि पौडेल र नरेन्द्र बस्याल सदस्य रहेका छन्।
भवनको नाम “मनमोहन स्मृति भवन” राख्ने निर्णय समेत गरिएको छ। निर्माणको प्रारम्भिक चरणमै सहयोग संकलन सुरु भएको छ। नगर उपसचिव जगतराज रेग्मीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र जिल्ला विद्यालय विभाग सदस्य तथा समाजसेवी कमल क्षेत्रीले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। बैठकले उनीहरूलाई विशेष धन्यवाद दिएको छ।
त्यसैगरी, बैठकले वाणगंगा नगरपालिका देशका ७५३ स्थानीय तहमध्ये स्वमूल्यांकन, सामाजिक उत्तरदायित्व, वित्तीय सुशासन र आर्थिक जवाफदेहिताको आधारमा ८औं स्थानमा पुगेको खबरलाई साझा गर्वको विषयका रूपमा लिएको छ। यस उपलब्धिमा नगर प्रमुख, राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण नगरवासीलाई आभार प्रकट गरिएको छ।
कार्यक्रम वाणगंगा नगरअध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज चक्रपाणि अर्याल प्रमुख अतिथि रहनु भएको थियो भने प्रदेश कमिटी सदस्य डम्बर शर्मा र जिल्ला कमिटी उपाध्यक्ष शंकर पाण्डे विशेष अतिथि रहेका थिए। कार्यक्रमको सहजीकरण नगर सचिव चेतनारायण भण्डारीले गरेका थिए।








