गृहपृष्ठ Featured कृषि प्रधान देशमा कृषक सिचाइ, मल–बिउ नपाएर दुःखी छन् : रायमाझी

कृषि प्रधान देशमा कृषक सिचाइ, मल–बिउ नपाएर दुःखी छन् : रायमाझी

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–४, डुंगहवामा डिप ट्युवेल जडान कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

यशोधरा शान्ति दीप ट्युवेल जल उपभोक्ता समितिबाट खडेरीको समयमा किसानलाई राहत दिने उद्देश्यले शुक्रबारदेखि
डिप ट्युवेल सञ्चालनमा ल्याइएको हो ।

आज भएको एक कार्यक्रमकाबीच प्रमुख अतिथि राप्रपाका केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीले रिबन काटी बोरिङ्को बटन थिचेर डिप ट्युवेलको उद्घाटन गर्नुभएको हो ।

सो क्रममा उहाँले नेपाल कृषि प्रधान देश भए पनि किसानहरू अझैपनि सिचाइ, मल र बिउजस्ता आधारभूत आवश्यकता नपाएर दुख पाएको उल्लेख गर्नुभयो । “नेपाल कृषि प्रधान देश हो तर विडम्बना के छ भने यहाँका कृषकहरू अझैपनि आधारभूत कुरा—सिचाइ, मल र बिउ पाउन सकिरहेका छैनन् । किसानहरू उत्पादन गर्न चाहन्छन् तर प्रणालीगत कमजोरीका कारण निराश छन् । यस्ता साना–साना सिचाइ योजनाले मात्र होइन, दीर्घकालीन रणनीतिले मात्र कृषकको भविष्य सुरक्षित हुन्छ, ” उहाँले भन्नुभयो ।

उहाँले यस्ता आधारभूत सुविधा उपलब्ध गराउन सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

भैरहवा भूमिगत जल परियोजनाको सहयोगमा सम्पन्न यस योजनाबाट करिब ६० बिगाह जमिनमा सिचाइ पुग्ने लक्ष्य राखिएको समितिले जनाएको छ ।

कार्यक्रममा भैरहवा भूमिगत जल आयोजनाका प्रमुख इन्जिनियर मोहन नेपाल, इन्जिनियर कपिल महर्जन, बाणगंगा कृषि विभाग प्रमुख लेखबहादुर कार्की, वडा सदस्य कृणबहादुर चौधरी, चन्द्रवती चौधरी लगायतको आतिथ्यता रहेको थियो ।

यशोधरा शान्ति दीप ट्युवेल जल उपभोक्ता समितिका अध्यक्ष पदम थापाको अध्यक्षता तथा मदनलाल मल्लको सञ्चालनमा सम्पन्न कार्यक्रममा किसानहरूले यस ट्युवेल सञ्चालनलाई खडेरीको बेला कृषि उत्पादनमा आशाको किरणका रूपमा लिएका छन् ।

सम्बन्धित् समाचार