वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाले भोलि शुक्रबार इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद मिलादुन्नबी (पैगम्बर हजरत मोहम्मद सल्लाह अलैहिसल्लामको जन्म जयन्ती) का अवसरमा स्थानीय विदा दिने घोषणा गरेको छ ।
नगर प्रमुख अब्दुल कलामले आज एक सूचना जारी गर्दै शुक्रबार नगरपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने जानकारी दिनुभएको हो ।
“नगरबासीहरूको मनोकामना पूर्तिको शुभकामना व्यक्त गर्दै आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण कार्यालय तथा विद्यालयमा विदा दिइने निर्णय गरिएको छ, ” सूचनामा भनिएको छ ।
यससँगै नगरपालिकाले सम्पूर्ण सेवाग्राही र विद्यार्थीहरूलाई विदाको दिनअनुसार आफ्ना कामकाज तथा अध्ययन तालिका मिलाउन आग्रह समेत गरेको छ ।









