गृहपृष्ठ Featured नेपालगन्जमा सहकारीको ३७ करोडको घोटालाका फरार अभियुक्त पक्राउ

नेपालगन्जमा सहकारीको ३७ करोडको घोटालाका फरार अभियुक्त पक्राउ

नेपालगन्ज ।

नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोडभन्दा बढीको सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

एक हजार ५२६ जना जाहेरवाला बचतकर्ता रहेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थाका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका अनुसार उच्च अदालत नेपालगन्जको फैसला कार्यान्वयन टोलीले सहकारी ठगीका तीन जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो ।

बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास गरी दुई तहको अदालतले उनीहरूबाट जेल सजाय र बिगो भराउने फैसला गरेसँगै सहकारीका तत्कालीन अध्यक्ष हरदेवबक्स चौधरीसहित सिद्धिकुमार महर्जन र सुरत खटिक फरार थिए । प्रहरी उपरिक्षक घर्तीमगरका अनुसार अझै १० दोषीहरू फरार रहेकोले उनीहरु पक्राउ हुन बाँकी छन्।

सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरिएको हुँदा अहिले पनि बचतकर्ताहरूको रकम फिर्ता हुन सकेको छैन। पीडित रकम फिर्ता नभएसम्म आफूहरूले न्याय पाएको अनुभूति गर्न नसक्ने बताउँछन् ।

अदालतद्वारा संस्थाका अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच–पाँच वर्ष कैद, ५०–५० हजार जरिवाना तोकिएको छ भने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको छ।

सम्बन्धित् समाचार