राष्ट्र, राष्ट्रियता, धर्म, बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग कुराकानीपछि आफूलाई पदको मोह नभएको बताएका छन्।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले प्रधान सेनापति अशोकराज सिग्देलसँग गरेको छलफलबारे जानकारी गराएका हुन्।
उनले आफूलाई नेतृत्वको मोह नभएको पनि बताएका छन्।
‘आज दिनभर प्रधानसेनापति अशोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो। यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ—मलाई नेतृत्वको मोह छैन,’ उनले लेखेका छन्।
यस्तै उनले आफू जुनसुकै परिस्थितिका लागि तयार रहेको पनि बताए।
‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु। तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु,’ उनले लेखेका छन्।








