सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा १०औं संविधान दिवस मनाएका छन् । कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा शुक्रबार आज वर्तमान संविधानको रक्षाका लागि देशका दुई प्रमुख दलबीच सहकार्य आवश्यक रहेको भन्दै यी दुई पार्टीले संयुक्त रुपमा संविधान दिवस मनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनमा बाह्य शक्तिद्धारा घुसपैठ भएको दाबी गर्दै आवश्यक अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको बताउँदै उहाँले संविधान दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिन भएको बताउनुभयो ।

संविधान सभा सदस्य नेपाली कांग्रेसका नेता अत्तहर कलाम मुसलमानले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्याङ्कन गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई लागू भएको नेपालको संविधान नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनको प्रतिफल भएको स्मरण गर्दै यसको संरक्षण र सफल कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नेपालको वर्तमान संविधान विश्वकै उत्कृष्ट संविधानमध्येको एक भएको जिकिर गर्नुभयो । उहाँले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । उहाँले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी प्राप्त उपलब्धिमाथि प्रहार गर्ने, पूर्वाधार विकासलाई ध्वंस पार्ने र नकारात्मक सोचलाई स्थापित गर्ने गलत भाष्य निर्माण गरिएकोप्रति नगरप्रमुख अर्यालले चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस बाणगंगाका सभापति विष्णु थापाले हालैको जेनजी आन्दोलनलाई युवापुस्ताको असन्तुष्टि र अपेक्षाको प्रतिफलका रूपमा व्याख्या गर्नुभयो । उहाँले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी, लुटपाटलाई स्वीकार्य नभएको भन्दै त्यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रमा नागरिकको आवाज र अधिकारको सम्मान गर्नुपर्ने दायित्व सरकारको भएको बताउनुभयो ।

नेकपा एमालेका पूर्वअध्यक्ष झविलाल पोख्रेल, डम्मर शर्मा, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, नेपाली कांग्रेसकी महिला नेतृ बालकुमारी पन्त लगायतका वक्ताहरुले जनआन्दोलनदेखि हालको आन्दोलनमा प्राण गुमाउने शहीदप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभ र क्षतिको पुनर्निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गर्नुभएको थियो । साथै, सुशासन, पारदर्शिता, भ्रष्टाचार अन्त्य, रोजगारी र विकासका प्रश्नलाई राष्ट्रिय एजेन्डा मानेर सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाले बाणगंगाका अध्यक्ष सोमनाथ अर्यालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन भिष्मराज भुसालले गर्नुभएको थियो ।








