चाडपर्व नजिकिएसँगै कपिलवस्तुका मूर्तिकारहरू व्यस्त बनेका छन्। कपिलवस्तु नगरपालिका–१ भिक्षु टोलका सुनिल तिवारीले यस वर्ष ९ सेट दुर्गालगायतका मूर्ति तयार गरी बिक्री गरिसकेका छन्। अग्रिम बुकिङ भएका सबै मूर्तिबाट उनले करिब साढे ३ लाख आम्दानी गर्ने अनुमान गरेका छन्।
सात वर्षदेखि मूर्ति व्यवसायमा सक्रीय तिवारीले छोरा, श्रीमती र सहयोगीसहित दिनरात काम गरिरहेका छन्। एक मूर्ति बनाउन २० देखि ३५ हजारसम्म अर्डर पाइने र खर्च कटाएर डेढ लाख नाफा हुने उनको भनाइ छ।
कपिलवस्तु–१ नयाँ टोलका अनिल गुप्ताले १५ सेट मूर्ति तयार पारेका छन्। १५ वर्षदेखि यस व्यवसायमा संलग्न गुप्ताले यसपालि ५ लाखसम्म आम्दानी गर्ने अपेक्षा राखेका छन्। माटो, बाँस, पराल, कपडा, रंगसहितका सामग्री प्रयोग गरेर दुर्गा, गणेश, लक्ष्मी, कार्तिकेय, कालीलगायतका मूर्ति तयार गरेको उनले सुनाए।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले यसलाई स्थानीय सीप र संस्कृतिको जगेर्नासँगै आम्दानीको राम्रो अवसरका रूपमा लिएका छन्। उनले भने, ‘दसैँजस्ता पर्वमा मूर्तिकारले गरेको मेहनतले हाम्रो संस्कृति मात्र संरक्षण हुँदैन, परिवारलाई आर्थिक आधार पनि पुग्छ।’ नगरपालिकाले यस्ता सीपलाई प्रोत्साहन गर्दै जाने उनको भनाइ छ।
जिल्लाका विभिन्न स्थानमा घटस्थापना र सप्तमीबाट मूर्ति प्रदर्शन हुने र द्वादशीका दिन नदी–नालामा विसर्जन गर्ने परम्परा छ।








