नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको राजनीतिक जटिलताको समाधान संविधानकै मार्गबाट खोजिनुपर्नेमा जोड दिएका छन् । सात दशक लामो संघर्ष र बलिदानपछि बनेको ऐतिहासिक संविधानले मुलुकलाई स्थिरता, प्रगति र समृद्धितर्फ अघि बढाउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
बडा दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले गत भदौ २३ र २४ गते जे–नजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
आन्दोलनका क्रममा आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका सरकारी निकाय, राजनीतिक दलका कार्यालय, निजी घर–डेरा र व्यावसायिक प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट भएको घटनालाई इतिहासकै अकल्पनीय र दुःखद भएको उनले उल्लेख गरेका छन् ।
दसैँ अन्यायमाथि न्यायको र असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएको उल्लेख गर्दै सभापति देउवाले यसले नेपाली समाजलाई पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भावना अझ प्रगाढ बनाउन प्रेरित गर्ने विश्वास व्यक्त पनि व्यक्त गरेका छन् ।








