काठमाण्डौ – देशका अधिकांश ठाउँमा ठूलो पानी परेसँगै आज विहानैदेखि उपत्यकाबाट बाहिरिएका गाडी धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन गाडी उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बीपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका गाडी पनि फर्किन थालेको जानकारी दिनुभयो । ‘अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका गाडी पनि काठमाण्डौतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन’, उहाँले भन्नुभयो, ‘सुरक्षित तरिकाले गाडीहरु होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन ।’
सडक विभागले बीपी राजमार्गमा अहिले विहान १० बजेपछि गाडीको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।








