पोखराको सहिदचोकस्थित गण्डकी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा आगजनी गर्ने युवक पक्राउ परेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन् । भदौ २४ मा प्रदर्शनकारीको समूहले निवासमा आगजनी गरेको थियो । असोज १२ गते राति उनी एक्लै मुख्यमन्त्री निवास पुगेका थिए ।
भदौ २४ मा आगजनीबाट बचेका सामान राखिएको कोठामा उनले आगजनी गरे । यसपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले दुई दिनअघि उनलाई पक्राउ गरेको हो ।
घटनाको दिन थापाले मापसे गरेका थिए । उनी मुख्यमन्त्री निवासपछाडि रहेको सहिद पार्कको रुख चढेपछि पर्खाल नाघेरभित्र पसेका थिए । उनले त्यहाँ आगजनी गरे । त्यसपछि उनले राष्ट्र बैंकचोकमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको एटीएममा तोडफोड गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
थापाले एटीएम मेसिनको स्क्रिनमा समेत ढुंगा प्रहार गरेका थिए ।