रेसुङ्गा (गुल्मी), असोज २३ गते ।
निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
गत असार १७ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने काम रोकिएको थियो । अहिले पुनः असोज १० गतेबाट मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्ने अभियान सुरु भएपछि अहिलेसम्म १५० जनाले विवरण दर्ता गरिसकेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिनुभयो ।
केही दिन दसैँ बिदाका कारण कार्यालय बन्द रहेका थिए । दैनिक सङ्ख्या बढ्दै गएको छ । आयोगले तोकेको आगामी कार्तिक मसान्तको समय सीमाभित्र पाँचदेखि आठ हजारले नामवली अद्यावधिक गराउने आफूहरूको अनुमान रहेको निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।
उहाँले परदेशबाट आएका, नयाँ उमेर समूहका र घरमै रहेर पनि नामवली अद्यावधिक नगरेकाहरू विवरण दर्ताका लागि अहिले कार्यालयमा आएको बताउनुभयो । आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि जिल्लास्थित निर्वाचन कार्यालय पनि निर्वाचनको व्यवस्थापकीय तयारीमा जुटेका छन् ।
निर्वाचन आयोगको निर्देशनअनुसार मतदाता नामवली अद्यावधिक, भौतिक पूर्वाधारको अवस्था मुल्याङ्कन, जनशक्ति तथा निर्वाचन सामग्रीहरूको अवस्था विश्लेषण र मागका लागि विवरण पठाउने काम भएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।