मकवानपुरको भीमफेदीमा ‘जेन–जी हुँ’ भन्दै सवारी चालक कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार राति भीमफेदी गाउँपालिका– १, सानुटार याङराङपुलनजिक सडकमा सवारीसाधन रोकी धम्क्याउँदै चालक कुटपिट गरेको आरोपमा स्थानीय २२ वर्षीय अमिर रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्कर बोगटीले जानकारी दिए।
बोगटीका अनुसार रुम्बाले रातको समयमा तरकारी तथा कृषिजन्य उत्पादन ढुवानी गर्ने गाडीहरू रोकी आफू जेन–जी समूहको सदस्य भएको दाबी गर्दै गैरकानुनी रूपमा ‘चेकजाँच’ गरेका थिए। सो क्रममा उनले चालकहरूमाथि कुटपिट गर्नुका साथै अश्लील शब्द प्रयोग गरेको बताइएको छ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले रुम्बालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको डिएसपी बोगटीले बताए।
उनका अनुसार घटनामा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने अनुमान गरिएको र फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।