गृहपृष्ठ Featured प्रतिनिधिसभा चुनावकाे उम्मेदवार छनोट विधिका लागि रास्वपाद्वारा सुझाव कार्यदल गठन

प्रतिनिधिसभा चुनावकाे उम्मेदवार छनोट विधिका लागि रास्वपाद्वारा सुझाव कार्यदल गठन

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदाे फागुन २१ गतेका लागि तय भएकाे प्रतिनिधिसभा चुनावका लागि एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिका लागि सुझाव सङ्कलन कार्यदल गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पार्टी सचिवालय बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधिसमेत रहने गरी सुझाव सङ्कलन कार्यदल गठन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोविता गौतमले जानकारी दिनुभयो ।

गाैतमका अनुसार बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक, राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न गठित संवाद समितिको संयोजकको जिम्मेवारी पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई दिएको छ ।

बैठकले पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आउँदाे कात्तिक १४ र १५ गते चितवनमा गर्ने र त्यसका लागि केन्द्रीय सदस्य हरि ढकालको नेतृत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले यही असोजको १७ र १८ गते आएकाे बाढी पहिराेपछि विपद्को प्रतिकार्य, राहत र उद्धारमा भएको प्रशंसनीय कार्यका लागि सरकारलाई धन्यावाद दिँदै पार्टीको तर्फबाट थप सक्दो प्रयास गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

गाैतमका अनुसार पार्टीले सल्लाहकार परिषद् गठनको प्रक्रिया शुरू गर्दै विभिन्न विज्ञहरूलाई मनोनीत पनि गरेको छ ।

सम्बन्धित् समाचार