काठमाडौँ — सेवाग्राहीबाट घुस लिएको अभियोगमा सशस्त्र प्रहरीका दुई कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगाँवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत निरीक्षक हरिचन्द्र ढकाल र जवान यामबहादुर खत्री विरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सीमा पारी भारतबाट दुर्गौलिया नाका हुँदै नेपाल आउने क्रममा सर्वसाधारणसँग ‘सामान पास गर्न सहजीकरण गरिदिने’ भन्दै १५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले जवान खत्रीलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि अनुसन्धान गर्दै जाँदा निरीक्षक ढकालको संलग्नता पनि खुलेपछि दुवै जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।