मनसुन पूरै नेपालबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ सूचना जारी गरी मनसुन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको जानकारी दिएको हो।
योसँगै नेपालमा औपचारिक रूपमा बर्खायामको अन्त्य भएको छ भने पोस्ट-मनसुन सिजन सुरु भएको छ।
यस वर्ष नेपालमा मनसुन औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै प्रवेश गरेको थियो। यो बाहिरिने सरदर मितिचाहिँ यही अक्टोबर २ तारिख थियो। तर औसत मितिभन्दा ८ दिन ढिला आज असोज २४ गते अर्थात् अक्टोबर १० तारिख मनसुन नेपालबाट बाहिरिएको हो।
यसअघि असोज २० गते मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मात्र हटेको थियो।
आज मनसुन पूर्ण रूपमा बाहिरिएसँगै नेपालमा पोस्ट-मनसुन सिजन सुरु भएको छ। मौसमविद्का अनुसार पोस्ट-मनसुन लाग्नु भनेको मौसम हिउँदतर्फ ढल्किनु हो। यो सिजन यही अक्टोबर र नोभेम्बर महिनासम्म रहन्छ। डिसेम्बरदेखि भने पूर्ण रूपमा हिउँदयाम अर्थात् विन्टर सिजन लाग्छ।