वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–५ सुठौलीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ७ बजे तौलिहवा–मर्यादपुर सडकखण्डमा मर्यादपुरतर्फबाट तौलिहवातर्फ आउँदै गरेको लु २२ प ९४८४ नम्बरको मोटरसाइकल अगाडि रोकिराखिएको भारतीय नम्बर प्लेट युपी ५१ एटी ४४५५ नम्बरको टेलर गाडीको पछाडि ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक वाणगंगा नगरपालिका–२ पिपरा निवासी ३० वर्षीय गणेश कुमार गुप्ता गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा साँझ करिब सोढे ७ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। गुप्ताको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ।
त्यसैगरी, मोटरसाइकलको पछाडि सवार बैरिया निवासी २१ वर्षीय ध्रुव कुमार शाहको दायाँ हात र दुबै खुट्टामा सामान्य चोट लागेको छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।
दुर्घटनास्थलमा दुवै सवारीसाधन फेला परेका छन् भने टेलर चालक हाल फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।