अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा सम्झौताका लागि अरब देश र मुस्लिम नेताहरूको प्रशंसा गर्नुभएको छ । इजरायली संसद् ‘नेसेट’ मा सम्बोधनका क्रममा ट्रम्पले अरब देश र मुस्लिम नेताहरूले बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाव दिन एकजुट भएको भन्दै प्रशंसा गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
सम्बोधनकै क्रममा राष्ट्रपति ट्रम्पले बन्दीहरूको घर फिर्तीलाई नयाँ मध्यपूर्वको ऐतिहासिक बिहानीका रूपमा उल्लेख गर्नुभएको खबरमा उल्लेख छ ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने साहस देखाएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको प्रशंसा गर्नुभएको छ ।
ट्रम्पले हमासलाई निःशस्त्र गरिने तर यसमा अझै सहमति हुन बाँकी रहेको पनि बताउनुभयो । उहाँले झन्डै सबै क्षेत्रले गाजालाई निःशस्त्रीकरण गर्ने र हमासलाई पनि हतियारविहीन बनाउने योजनालाई समर्थन गरेको भनिरहँदा इजरायली संसद्मा निकै लामो समयसम्म ताली बजेको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ । गाजाबाट बन्धकको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यको प्रयासमा योगदान पुर्याएको भन्दै इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले ट्रम्पलाई देशको सर्वाेच्च नागरिक सम्मान दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।
ट्रम्प इजरायलबाट इजिप्ट जाने र त्यहाँ उहाँले गाजामा शान्तिको बारेमा अन्य देशका नेताहरूसँग वार्ता गर्ने खबरमा उल्लेख छ ।