काठमाडौं ।
चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चीनबाट अमेरिका जाने साम्रगीहरूमा १०० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने निर्णयको विरोध गरेको छ ।
चिनियाँ अर्थ मन्त्रालयका अधिकारीले मंगलबार सञ्चार माध्यमसँग कुरा गर्दै अमेरिका लड्न चाहन्छ भने चीन पनि अन्तिमसम्म लड्न तयार रहेको बताए । तर, वार्ता गर्न चाहेको भए धम्की दिन बन्द गर्नुपर्ने स्पष्ट पारेका छन् ।
चीनले धेरै दुर्लभ खनिज पदार्थ (रेयर अर्थ मेटिरियल्स)हरूका लागि नयाँ नियम जारी गरेको छ । नयाँ नियमअन्तर्गत, कुनै पनि कम्पनीले चीनबाट दुर्लभ खनिज खरिद गरेर बाहिर बेच्न चाहेमा पहिले चिनियाँ सरकारबाट लाइसेन्स लिनुपर्नेछ ।
ट्रम्पले केही दिनअघि यो निर्णयलाई शत्रुतापूर्ण भन्दै चीन पछि नहटेमा अमेरिकाले तीन अंक (१०० प्रतिशतभन्दा बढी) नयाँ कर लगाउने चेतावनी दिएका थिए ।
यस विषयमा चीनले अमेरिकाले पहिले आफ्ना कम्पनीहरूमाथि धेरै प्रतिबन्ध लगाएका कारण त्यसको जवाफमा यो कदम चाल्नुपरेको बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ शुल्क नोभेम्बर १ बाट लागु हुने बताएका थिए । चीनबाट अमेरिका आउने सामानहरूमा पहिलेदेखि नै ३० प्रतिशत शुल्क लागिरहेको छ । यसपछि चीनमाथि कुल १३० प्रतिशत शुल्क लाग्ने बताइएको छ ।
चीनले भन्यो– अमेरिकाले वार्ताको माहोल बिगार्यो
चिनियाँ सरकारले अमेरिकी सामग्रीहरूमा शुल्क लगाउने योजना बनाएर अमेरिकाले वार्ताको माहोल बिगारेको बताएको छ ।
यो अवस्था मे महिनाको जस्तो स्थिति भएको बताइएको छ । त्यतीबेला ट्रम्पले चिनियाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाए, चिप्स (चिप प्रविधि) र सफ्टवेयर रोक्दै र चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने धम्की दिएका थिए ।
यद्यपि, चीनले पूर्णरूपमा प्रतिबन्ध नलगाएको तर अब दुर्लभ खनिजका लागि लाइसेन्स चाहिने बताएको छ । विज्ञहरूका अनुसार चीनले अमेरिकाजस्तै नियमहरू अपनाइरहेको छ ।
सी चिनफिङ र ट्रम्पको भेट रद्द हुनसक्छ ?
सञ्चार माध्यमका रिपोर्टहरूमा यो तनाव कम नभएमा यस महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने सी र ट्रम्पको भेट रद्द हुनसक्ने आशंका छ । यद्यपि, अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले भेटवार्ता हुने बताएका छन् ।
यसैबीच, विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको यो तनाबले विश्वव्यापी बजारमा अनिश्चितताको माहोल सिर्जना भएको छ । व्यापारीहरूलाई यदि यो विवाद अगाडि बढेमा व्यापार युद्ध (ट्रेड वार)जस्तो अवस्था उत्पन्न हुनसक्ने डर उत्पन्न भएको छ ।
ट्रम्पको आक्रामक विदेश नीतिलाई लिएर बेइजिङको रेनमिन युनिभर्सिटीका प्रोफेसर जिन कनरोङले भने, “अमेरिकाले पहिले चीनमाथि आक्रमण गर्यो र अब आफूलाई निर्दोष देखाउने प्रयास गरिरहेको छ ।”
शांघाईको फुडान युनिभर्सिटीका प्रोफेसर वू शिनबोले भने, “यो कदमले अमेरिकाको गलत मनसायलाई उजागर गर्छ । ट्रम्पको टोलीलाई आफ्ना निर्णयहरूको नतिजाबारे अनुमान छैन ।”
उनले अमेरिकाले चिप्स र प्रविधिमा रोक लगाएपछि चीनले यसको जवाफ दिइरहेको बताएका छन् ।
सी र ट्रम्पको प्रस्तावित भेटबारे वूले भने, “ट्रम्पले सम्बन्ध सुधार्नका लागि ठोस कदम चाल्नुपर्छ । चीनले अमेरिकाको दबाब सहने छैन ।”
“चीनले ट्रम्पको रणनीति राम्ररी बुझ्छ । यसपटक अमेरिका बढी चिन्तित छ,” रेनमिन युनिभर्सिटीका अर्का प्रोफेसर वाङ यिवेईले भने, “अमेरिकाले चीनसँग सहकार्य गर्नुपर्छ भन्ने हाम्रो सन्देश स्पष्ट छ ।” सीएनएन