काठमाडौं : नेपालीहरूको दोस्रो महान् चाड तिहारमा यतिखेर अधिकांश सर्वसाधारणहरूले पटाका पड्काएर रमाइलो गरिरहेका छन्। तर,कानुनअनुसार पटाका किनबेच र पडकाउने गैरकानुनी हो।
प्रहरीले यसअघि नै आतिशबाजी (पटाका, झिरझिरे पड्काउने) काम नगर्न आग्रह गरेको छ। तर,पनि अहिले बढी बेलुकाको समयमा पटका पड्काउने गरेका छन्।
यस्तो कार्य गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसूरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिताको परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने पनि व्यवस्था छ। उक्त व्यवस्थामा भनिएको छ,‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’
सामान्य विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी,पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनुपर्छ भनी स्पष्टीकरणमा उल्लेख छ। उपदफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।
(ख)मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र (ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद तीस हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ। यहीअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।








