काठमाण्डाै – नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ ।
नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै आएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिनुभयो ।
नेपाली सेनाका आठ वटा गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ । चालू आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार, ३३५ वटा गाडी र १६ वटा ओखोटोपहार बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाली सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ वर्षयता बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो गणना अनुसार नेपालमा बाघको सङ्ख्या ३५५ र गैँडाको सङ्ख्या ७५२ रहेको छ । यसअघि सन् २००९ मा भएको जनगणनामा बाघको सङ्ख्या १२१ र सन् २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० रहेको थियो ।
यी उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिक व्यक्तिले आफनो जीवन गुमाएका सेनाले जनाएको छ ।
नेपाली सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्न पछिल्लो दशकमा वार्षिक रूपमा हिमाल सफाइ अभियान पनि सञ्चालन गर्दै आएको छ ।










