काठमाडौँ ।
सम्पदा र संस्कृति संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सट्टा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएकोमा आपत्ति जनाउँदै मन्त्री पदको जिम्मेवारी अस्वीकार गरेको जानकारी दिएका छन् ।
झन्डै २४ वर्षदेखि देशको सम्पदा, संस्कृति र सभ्यताको संरक्षण तथा संवर्धनका लागि सङ्घर्ष गर्दै आएका श्रेष्ठले आफू मन्त्री बन्नका लागि कसैको हारगुहार नगरेको तर देशको अहिलेको तरल अवस्था र पर्यटन व्यवसायको खस्किँदो स्थिति तथा संस्कृति संरक्षणमा हुन सक्ने अपूरणीय क्षतिलाई रोक्न आफूले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेको बताएका हुन् ।
करिब एक महिनाअघि प्रधानमन्त्रीसँग भेट्दा आफूले मार्गचित्र तयार गरेको र आफ्नो विज्ञता, ज्ञान र अनुभव संस्कृति, सम्पदा र पर्यटनको क्षेत्रमा रहेकाले सोही मन्त्रालयको जिम्मेवारी लिने स्पष्ट पारेको उनले जनाएका छन् ।