गृहपृष्ठ Featured छठ पर्वले समानता र एकताको सन्देश बोकेको छ : मुख्यमन्त्री आचार्य

छठ पर्वले समानता र एकताको सन्देश बोकेको छ : मुख्यमन्त्री आचार्य

रूपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । उनले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकासमा पनि यस पर्वले प्रेरणा दिएको उल्लेख गरेका हुन् ।

छठ पर्व–२०८२ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सूर्यदेव र छठी माताको पूजा श्रद्धा र आस्थाका साथ विस्तार हुँदै गएको बताए ।

उनका अनुसार भेदभावविना सबै प्राणीलाई प्रकाश, ताप र शक्ति दिने समानताको प्रतीक सूर्यदेवप्रति आस्था र श्रद्धा व्यक्त गर्ने यो पर्वले समाजमा आपसी सद्भाव र एकता सुदृढ पार्दै आएको छ । उनले छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले देशमा देखिएका चुनौतीहरूको समाधान संवैधानिक र लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत मात्रै सम्भव हुने बताउँदै साझा समझदारी र दृढताको आवश्यकता औँल्याए ।

उनले लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिको संरक्षण र संवर्धनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य पूरा गर्न प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको उनको भनाइ छ ।

सम्बन्धित् समाचार