वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवानगरमा सोमबार साँझ अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना बालबालिका घाइते भएका छन्।
कृष्णनगरदेखि बहादुरगञ्जतर्फ जाँदै गरेको लु १ ह २९६ नम्बरको टेम्पुले सोही दिशातर्फ जाँदै गरेको लु १ ह ८२४ नम्बरको टेम्पोलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करबाट टेम्पुमा सवार महाराजगञ्ज नगरपालिका–११ बडेगाउँका ३५ वर्षीय विष्णु धरीक गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको बहादुरगञ्ज अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा धरीकका ५ वर्षीय छोरा विष्णु र १० वर्षीया छोरी रन्जिता घाइते भएका छन्। उनीहरू हाल उपचाररत रहेका छन्।
घटनापछि प्रहरीले एक अटो चालक रन्जित अग्रहरीलाई पक्राउ गरेको छ भने एकजना फरार रहेको जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।










