रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा बुधबार अर्घाखाँचीको सन्धिखर्कबाट पक्राउ परेका तीन युवालाई अदालतले छाड्ने आदेश दिएको छ ।
भूमिकास्थान नगरपालिका–१ घर भई हाल सन्धिखर्क नगरपालिका–२ घोचेखोला बस्ने गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्कर पौडेल भनिने पुष्पलाल पौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगाना बुधबार पक्राउ परेका थिए ।
अर्घाखाँची जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बुधबार पक्राउ परेका थिए तर बिहीबार जिल्ला अदालतले उनीहरुलाई थुनामा राख्नुपर्ने प्रमाणहरु नदेखिएको भन्दै छाड्न आदेश दिएको हो । उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो ।
बिहीबार जिल्ला न्यायधीश शिवलाल पाण्डेको इजलासले उक्त मुद्दामा पेश भएको मिसिलमा रहेका पेनड्राइभ रहेको भिडियो र फोटामा उनीहरु संलग्न प्रमाण नदेखिएकोले थुनामा राख्नुनपर्ने आदेश दिएको हो ।








